पूर्वपञ्चहरुको बाहुल्य रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासहित युवा नेतृत्वले समेत आकाँक्षा देखाएका छन् ।
पटक–पटक टुटफुट र विभाजनको मार खेपेको राप्रपा एकता महाधिवेशनको तयारीमा जुट्दै गर्दा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको हो । राप्रपाले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन तय गरेको छ । यसका लागि पार्टीले आन्तरिक तयारीलाई तीव्र पारेको छ ।
यही पृष्ठभूमिमा पुरानो नेतृत्व कि नयाँलाई ल्याउने भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ । राप्रपाका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु पार्टीको एकता महाधिवेशनको तयारीमा तीव्रताका साथ जुटिरहेको रातोपाटीलाई जानकारी दिए ।
‘पार्टी एकताको भावना र मूल स्पिरिटअनुसार हामी जुटिरहेका छौं’, उनले भने, ‘पार्टीलाई चलायमान बनाउने नेतृत्वको जरुरी छ, त्यसो भन्दैमा एकतालाई बचाइराख्नु पनि अहिलेको आवश्यकता भएकाले सोहीअनुसार हामी लागिपरेका छौं ।’
राप्रपा स्रोतका अनुसार आगामी एकता महाधिवेशनबाट युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोडतोडले आवाज उठिरहेको छ । पुरानो ढंगले पार्टी सञ्चालन हुँदा युवापुस्ताको आकर्षणमा कमी आउनुका साथै जनाधार घट्दै गएकाले पार्टीलाई पुनर्जीवन दिन युवा अघि गर्नुपर्नेमा उनीहरुको जोड छ ।
त्यसका लागि प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनसहित नेपालगन्ज महानगरपालिकाका मेयर धवल शमशेर राणा, नेताहरु विक्रम पाण्डेलगायतका नेताहरु नेतृत्वका लागि तयार रहेको बताइएको छ । उनीहरुबीच त्यही प्रयोजनका लागि आन्तरिक छलफल र रणनीति बनाउन निरन्तर लागिपरेका छन् । लिङदेनले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्नेमा आवाज उठिरहेपनि आफूहरु छलफलमै रहेको बताए ।
पार्टी विभाजनको भय ! एकता र विभाजन नियति जस्तै बनिरहेको राप्रपामा विगतको इतिहास नदोहोरिने गरी महाधिवेशनबाट निकास खोजिनुपर्ने राप्रपाका नेताहरुको जोड छ । ‘विगतमा राप्रपा पटक–पटक विभाजनको परिणाम हामीले बेहोरेर आइसकेका छन् । अब पनि पहिलेकै जस्तो गल्ती हामीले दोहोर्याउन हुन्न’, लिङदेनले रातोपाटीसँग भने, ‘सबैलाई मिलाएर, सबैलाई सन्तुष्ट बनाएर एकता महाधिवेशन गरिनुपर्छ ।’