जिल्लाको बुढिगंगा नगरपालिकामा १ को धुरालसैन माविका विद्यार्थी बिरामी परेका छन् । पाँच दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जानकारी दिएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने जस्ता समस्या देखिएको विद्यालयका शिक्षक रमानन्द पाध्यायले बताए ।
चार दिनयता दिनप्रतिदिन १५, २० जना बिरामी हुन थालेको शिक्षक पाध्यायले बताए । विद्यार्थी बिरामी हुनथालेको खबर पाएपछि ब्रमतोला स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली स्कुल गएको अहेब ताराकुमारी खत्रीले बताइन। स्वास्थ्यकर्मीको टोली पुग्नु अगाबै धेरै बिरामी विद्यार्थीलाई शिक्षकले घर पठाएसकेका रहेछन् ।
२० जना भन्दा बढी विद्यार्थीलाई चेकजाँच र उपचार गरेको खत्रीले बताइन्। सुरुमा कम्पनसहितको ज्वरो आउने र विस्तारै कतिपयमा ठिक हुँदै गएको छ। सुरुका दिनमा त मौसमी रुघाखोकी होला भन्ने लागेको र विद्यालयले पनि बिरामी परेका विद्यार्थीलाई घर पठाउने गरेको थियो। विस्तारै विद्यार्थीको संख्या बढ्दै गएको छ।
सोमबार मात्र कक्षा–७ का १० जना विद्यार्थी बिरामी परेका छन् । दिनदिनै विद्यार्थी बिरामी हुनथालेपछि बुढीगंगा नगरपालिकाबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएको बुढीगंगा नगरपालिका मेयर दिपकविक्रम शाहले बताए। गाँउमा समेत रुघाखोकीका बिरामी बढेको जानकारी आएको छ । गाउँटोलमा समेत स्वास्थ्यकर्मी पठाउने तयारी नगरपालिकाले थालेको नगरप्रमुख शाहले बताए।