काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले मतदाता मात्र नभएर काठमाडौंमा बस्नेसमेत खुसी हुनेगरी नयाँ आइडिया निकालेका छन । मेयर शाहले काठमाडौंको पार्किङ समस्याको समाधानका लागि भूमिगत पार्किङको अवधारणा ल्याएका हुन् । काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत पार्किङ निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढेको छ ।
काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेशकुमार काफ्लेले काठमाडौंको कालोपत्रे गरेको सडकमाथि भइरहेका पार्किङ कम गर्न कोर सिटीलाई फोकस गरेर टुँडिखेलमुनि वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि हुनसक्ने भनेर सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
‘पार्किङका लागि बेसमेन्टमा अझै डबल बेसमेन्टमा जान सकियो भने सडक खाली गर्न सकिन्छ र ट्राफिक जाम कम गर्न सकिन्छ भन्ने मान्यतामा यो अवधारणा मेयर बालेन्द्र शाहले ल्याएका हुन्,’ उनले भने ।
‘नीति पास भइसकेको छ, अब १–२ दिनमा बजेट पास भएपछि त्यसको डीपीआर गर्न कम्तिमा ४–५ महिना लाग्छ, डीपीआर रिपोर्टले साइन्टिफिकल्ली र टेक्निकल्ली यो प्रोजेक्ट तयार गर्न सकिन्छ भन्ने रिपोर्ट आयो भने मात्र अगाडि बढाउने हो,’ उनले भने ।
‘
सूचना अधिकारी महेशकुमार काफ्लेका अनुसार प्रारम्भिक अध्ययनले खुलामञ्चमा १ हजार सवारी पार्किङ गर्न सकिने देखिएको छ भने बाँकी अरु स्थानमा ३००–४०० गाडी र १ हजार जति मोटरसाइकल पार्किङ गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

