नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।
शनिवार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो । दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्य हुन् ।
स्थानीय तहको निर्वाचनमा तथा पार्टीका अन्य सङ्गठनात्मक काममा चौधरी निकै अगाडि देखिए पनि पाण्डेलाई अगाडि सारिएकोप्रति लुम्बिनीका नेताहरू आश्चर्यमा परेका छन् ।
नेकपा एसका नेताहरूले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दाबी गरेका छन् ।
यसैगरी रुपन्देही जिल्ला उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले आफ्नो पदीय जिम्मेवारी छोडेका छन् । लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि भट्टराईले जिल्ला उपाध्यक्ष छोडेका हुन् । जिल्ला उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीष, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन् ।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन ।

