नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित दर्जन बढी कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
एमाले परित्याग गरेका खरेलसहित नेताकार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।
सो अवसरमा अध्यक्ष दाहालले सङ्घीयता धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुन आह्वान गरे ।
गैरआवासीय नेपालीको नागरिकता समस्या हल गर्न पहल गर्ने प्रचण्डको प्रतिवद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलवार आफ्नै निवास खुमलटार आएको गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलसँग प्रचण्डले गैरआवासीय नेपालीहरुको समस्याका बारेमा पहिलेदेखि नै आवाज उठाउँदै आएको बताए ।
उनले भने, ‘अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिवद्ध छौं ।
भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषयहरु समावेश गरी सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो ।
भेटघाटमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

