काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरबारे प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्ने बताएका हुन् । देउवाले गभर्नर अधिकारीसँग अरु कुनै विकल्प नै नभएको पनि बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारीको नाम उल्लेख भएपछि उक्त नाम गभर्नर अधिकारीकै भएको भन्दै व्यापक आलोचना भएको थियो । सामाजिक सञ्जालमा पनि अधिकारीको राजीनामा माग्दै आलोचना भइरहेको छ ।
सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरुले उक्त विषयलाई उठाएपछि प्रधानमन्त्री देउवाले गभर्नरले राजीनामा दिनुपर्ने बताएका हुन् ।
म एम अधिकारी हाेइन : गभर्नर महाप्रसाद
गभर्नर महाप्रसाद अधिकारीले एमालेको अर्थ तथा योजना समितिमा रहेकाे एम अधिकारी आफू नभएकाे जिकिर गरेका छन् । ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन, म यही जानकारी दिन्छु ।
म एम अधिकारी हाेइन,’ उनले भनेका छन् । उनले त्यसअघि भनेका छन्— ‘म कुनै पार्टीसँग जोडिएको पनि छैन । म कहाँबाट एमालेमा हुनु ।’ उनले आफू राजनीतिबाट निरपेक्ष व्यक्तिरहेकाे पनि प्रष्टाेक्ति दिएका छन् ।

