अभिनेता-ज्योतिष हरिहर अधिकारी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा प्रवेश गर्ने भएका छन् । हिजो बसुन्धरास्थित पार्टीको कार्यालयमा नै पुगेर हरिहर र पत्नी नीता ढुंगानाले रविसँग लामो कुराकानी गरेका थिए ।
कुराकानीमा रविले हरिहरलाई आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्न प्रस्ताव गरेको एक स्रोतले बतायो । ‘अब राजनीतिमा युवाहरु नै अगाडि बढ्ने हो, तपाईंलाई हाम्रो पार्टीका तर्फबाट चुनावमा सहभागी हुन अनुरोध गर्दछु,’ रविको आग्रहलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
हरिहरको स्थायी घर दाङ हो । यसअर्थमा, अधिकारी अहिले काठमाडौंका मतदाता हुन् । हरिहरले चाहेमा उनलाई काठमाडौं वा दाङबाट टिकट दिन रवि तयार रहेको स्रोतले बतायो । यसमा हरिहरले सोचेर निर्णय लिने बताएका छन् ।
स्वतन्त्र पार्टीमा आवद्ध हुन भने हरिहर सहमत भइसकेको स्रोतको भनाइ छ । उनी सक्रियरुपमा नै पार्टीमा लाग्ने र नीताले चाहिँ समर्थकको रुपमा मात्रै सो पार्टीलाई साथ दिने समझदारी भएको बुझिएको छ ।
रवि लामिछाने र मेयर साम्पाङबीच भेट
संचारकर्म छाडेर राजनीति सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट भएको छ। लामिछाने र साम्पाङबीच शुक्रबार धरान उपमहानगरपालिकाको कार्यकक्षमा भेट भएको हो।
धरानको मेयरमा साम्पाङ स्वतन्त्र उम्मेदवार बनेर बिजयी भएका थिए। लामिछानेले भेटेर नै साम्पाङलाई शुभकामना दिएका हुन्। लामिछानेको पार्टी अहिले देश दौडाहमा लागेको छ। सो पार्टीले पछिल्लो दिनहरुमा पूर्वका जिल्लाहरुमा भेला गरिरहेको छ।
‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको, खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर, सकिएछ,’ भेटपछि लामिछानेले भनेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला।