लोकगायिका तथा राष्ट्रिय सभाबाट भर्खर बिदा पाएकी कोमल वलीले चहलपहल बढाएकी छिन् । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्लाबाट टिकटको निम्ति काठमाडौं आएका कतिपय नेताहरू शक्ति केन्द्र धाइरहेका बेला उनी पनि सक्रिय भएकी छिन् ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास टिकेट खोज्नेहरुले भरिभराउ हुन थालेको छ । एमाले स्रोतका अनुसार टिकटका लागि लबिङ गर्न बालकोट जानेहरूको लर्कोमा वली पनि सामेल छिन् ।
दशौं महाधिवेशन यता ओली निवास बालकोटपछि महासचिव शंकर पोखरेलको निवास कोटेश्वरमा पनि आकाँ क्षीहरु पुग्ने गरेका छन् । अध्यक्ष ओलीलाई भेट्न केन्द्रीय सदस्यसहित जिल्लाबाट नयाँ कार्यकर्ताहरू आइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।
‘वली सकेसम्म अध्यक्षलाई मात्रै भेट्छिन्,नमस्कार गर्छिन्,गफिन खोज्छिन् । बेलामौकामा जिल्ला जान्छिन् । उनी नै गाउँ–ठाउँका हर–खबरको रिपोर्टिङ गर्छिन् । कहिलेकाहीँ ज्यादै भीडभाड हुँदा चिया पिएर घर फर्किन्छिन्,’ वलीलाई धेरै पटक बालकोटमा देखेका एक जना एमाले नेताले बताए ।
उपत्यका नछाड्ने वली दाङबाट आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र आकांक्षी मानिन्छिन् । उनी टिकट माग्दै ओली निवास बालकोट धाइरहेको अनुमान गरिएको छ ।
पछिल्लो समय सबैभन्दा बढी ‘बा’ भेट्न बालकोट जानेमध्येमा उनी नै शीर्ष स्थानमा पर्छिन् । राप्रपा छाडेर एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य बनेकी उनी सौराहा महाधिवेशनबाट एकैचोटी केन्द्रीय सदस्यमा मनोनीत भएकी हुन् ।
‘कोमल दिदीलाई दंगाली जनताले पत्याउँदैनन् । उहाँ फेरि अवसर खोज्दै हिँड्नु हुँदैन १ क्षेत्र नम्बर ३ का मतदाताले युवराज ज्ञवाली वा घनश्याम पाण्डेलाई खोजेका छन् । पार्टी फेर्दै हिँड्नेलाई महासचिव शंकर कमरेडले पनि धेरै बोक्नु हुँदैन,’ एमाले तुलसीपुरका एक पदाधिकारी भन्छन् ।
वली दाङ–३ बाट प्रतिनिधिसभाका लागि टिकट माग्दै एमाले शीर्ष नेताहरूको घरदैलोमा दौडिरहँदा स्थानीय वास्तविकता अर्कै छ । उता केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरका पूर्वमेयर घनश्याम पाण्डे सो क्षेत्रमा सबैभन्दा बलिया दाबेदार मानिएका छन् । करोडौं खर्चेर चुनाव लड्न सक्दिन भन्ने उपाध्यक्ष युवराज ज्ञवालीको पनि उत्तिकै चर्चा छ ।
वली महासचिव पोखरेल हुँदै प्रायः एकाबिहानै ओलीनिवास पुग्ने र ढुक्कै ४९५ घण्टा बिताउने गरेपछि वरिष्ठ नेताहरु नै अचम्भित भएको बताइन्छ । पार्टीभित्रका कतिपय केन्द्रीय सदस्यको अवसरवादी शैली देखेर अध्यक्ष ओलीको सचिवालयका सहयोगीसमेत दिक्क हुन थालेका छन् ।
संकटका बेला पार्टीलाई मरिमेटेर सहयोग गर्नेहरूलाई अनेकौं कमिटी र विभागको सदस्य बन्नबाट वञ्चित गराइएको भन्दै प्रेस चौतारीकै पदाधिकारीहरुले खिसीट्युरी गरेका छन् ।
‘गुट फेर्दै हिँड्ने अवसरवादीहरू मन्त्री, सांसद,विभागीय प्रमुख–उपप्रमुख बने । ती नेतालाई गा’ली गर्दै हिँड्नेहरू नै नेताका प्रिय पात्र बने । तर संकटको समयमा पार्टी कमिटी जोगाउनेहरू उनीहरूबाटै पी’डित छन्,’ उनै पदाधिकारीले भने ।