दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए ।
पूर्वमन्त्रीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । यस क्रममा ज्ञवालीले खाना खाइरहेको एउटा तस्वीर भाइरल भइरहेको छ । तस्वीरमा उनले खाना खाइरहेको टेबल विभिन्न परिकारहरुले भरिभराउ देखिन्छ । यही तस्वीरलाई उनको अभिव्यक्तिसँग जोडेर गलत प्रचार भइरहेको थियो ।
ज्ञवालीको यो तस्वीर उनको आफ्नो घरभित्रको भने थिएन । आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा यो तस्वीर खिचिएको पुष्टि भएको छ । अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा यो तस्वीर आफैँले मोबाइलबाट खिचेको पुष्टि गरेका छन् ।
‘मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदिप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधिलाई सजाय होस्,’ उनले फेसबुकमा लेखेका छन् ।
ज्ञवालीले यो तस्वीर ३० सेप्टेम्बर २०१८ मा पोष्ट गरेका थिए ।
ज्ञवालीले नियन्त्रणहीन ढंगले मूल्यवृद्धि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आजको संसद बैठकमा विभिन्न वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिको तथ्यांकसमेत प्रस्तुत गरे ।
ज्ञवालीले पछिल्लो एक वर्षमै खाद्यान्नमा ४० प्रतिशत मूल्यवृद्धि भएको बताए । मूल्यवृद्धिको मारमा परेका जनतालाई सरकारले राहत दिने र मूल्य नियन्त्रणमा लाग्नुको साटो विषयान्तर गर्ने प्रयास गरिरहेको उनको आरोप छ ।
ज्ञवालीले भने, ‘यतिबेला मध्यमवर्गलाई पनि आच्छुआच्छु परिरहेको छ । बहुआयामिक गरिबीले आक्रान्त नागरिकको संख्या ठूलो छ । थोरै भए पनि उनीहरूको लागि के गर्न सकिन्छ भन्ने अहिलेको साझा विषय बन्नुपर्ने होइन रु तर, सरकार विषयान्तर गरेर एम अधिकारी खोजेर बसेको छ ।’