कांग्रेसको केन्द्रीय कमिटीको बैठकले निर्णय गरेको थियो– बहुमत पुग्नेगरी गठबन्धन गर्ने । अर्थात् कांग्रेस आउँदो संघीय चुनावमा एकल बहुमतको कोसिसमा रहेको छ ।
त्यसका लागि माअोवादी केन्द्र, एकीकृत समाजवादीसहितका केही साना दलको साथ खोजिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले बहुमत पुर्याउनका लागि गठबन्धन गर्ने निर्णय गर्नुमा खास कारणचाहिँ गृह मन्त्रालयले गरेको अनौपचारिक अध्ययन हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न सुरक्षा संयन्त्र प्रयोग गरी सम्भावित दलीय स्थितिको आकलन गर्न लगाएका थिए ।
३० वैशाख ०७९ को स्थानीय तहको मत परिणामका आधारमा मंसिरको संघीय चुनावमा दलले जित्न सक्ने सम्भावित सिटको विषयमा अध्ययन भएको हो । त्यही रिपोर्टका आधारमा गृहमन्त्री खाँणले केन्द्रीय कार्यसमितिको बैठकमा सामान्य ब्रिफिङ पनि गरेका थिए ।
कांग्रेस स्रोतबाट प्राप्त रिपोर्टअनुसार आउँदो संघीय चुनावमा कांग्रेसले एकल प्रतिस्पर्धा गर्दा ७७ सिट जित्न सक्नेछ भने ७९ सिटमा दोस्रो हुनेछ । त्यसैगरी, एमाले ७० वटा सिट जित्ने अवस्थामा रहेको छ भने एमाले ६६ वटा सिट जित्दै दोस्रो हुनेछ । उक्त रिपोर्टका अनुसार माओवादी केन्द्र भने ८ सिटमा सीमित हुने आकलन गरिएको छ । एकीकृत समाजवादीले जम्माजम्मी १ सिटमात्रै जित्नेछ । यता, जसपाले ४ र लोसपाले २ वटा सिट मात्रै जित्ने गृहको रिपोर्ट रहेको छ ।
राप्रपाले भने एउटा पनि सिट जित्न नसक्ने बरु ६ वटा सिटमा भने दोस्रो हुन सक्ने सम्भावित अवस्था रहेको उक्त रिपोर्टमा जनाइएको छ । कांग्रेसले ७७ वटा सिट जित्ने आंकनल गरेको भए पनि अघिल्लो चुनावमा भने २३ सिट मात्रै जितेको थियो ।
अघिल्लो चुनावमा एमाले र माओवादीको गठबन्धन थियो । उनीहरूले क्रमशः ८१ र ३६ सिट जितेका थिए । जसपाले ११ र लोसपाले १० वटा सिट जितेका थिए । राप्रपाले एउटा सिट जितेको थियो ।
एमाले र कांग्रेसको सिट संख्या बढ्ने आकलन गरेको गृहको रिपोर्टमा माअोवादीसहित जसपा, लोसपा र राप्रपालगायतका शक्तिहरू भने कमजोर हुने तथ्यांकीय विवरणमा उल्लेख गरेको कांग्रेसका एक केन्द्रीय कार्यसमिति सदस्यले जानकारी दिए ।
अर्कातिर गठबन्धन गरेको अवस्थामा कति सिट जितिन्छ धन्ने आकलन पनि उक्त रिपोर्टमा गरिएको छ । कांग्रेस र माअोवादीको गठबनधन हुँदा १०९ वटा सिट जितिने विवरण रिपोर्टमा उल्लेख छ । प्रदेशसभाको हकमा यो गठबन्धनले २ सय १९ वटा सिट जित्ने उल्लेख गरेको छ ।
त्यसैगरी, कांग्रेस र माअोवादीको गठबन्धनविरुद्ध एमाले, एकीकृत समाजवादी र राप्रपा मिलेर चुनाव लडेको अवस्थामा उनीहरूले ५६ वटा सिट जित्ने आकलन छ । यो गठबन्धनले १ सय ११ प्रदेशसभाका सिट जित्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, कांग्रेस एक्लै चुनाव लडेको अवस्थामा एमाले र माओवादीको गठबन्धन भयो भने कांग्रेस २० सिटमा झर्ने र माओवादी र एमालेको गठबन्धनले १ सय ४५ सिट जित्ने विश्लेषण गरिएको छ । त्यस्तो बेला कांग्रेसले प्रदेशसभामा ६२ र एमाले र माओवादीको गठबन्धनले २ सय ६८ सिट जित्ने विवरण रिपोर्टमा छ ।