माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाबाट अलग्गिएका नेता बाबुराम भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको छ । प्रचण्डनिकट स्रोतका अनुसार आज बिहान तीन नेताबीच नेकपा समाजवादी केन्द्र बनाएर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको हो ।
जनता समाजवादी पार्टी ९जसपा० सँग सम्बन्धविच्छेद गर्ने निर्णयमा पुग्नुभन्दा अघि नै बाबुरामले उपराष्ट्रपति नन्दकिशोर पुनलाई साक्षी राखेर प्रचण्डसँग तीन पटकसम्म संवाद गरेका थिए ।
उपराष्ट्रपति कार्यालयमा तीन चरणमा भएका ती संवादका ठोस कुरा सार्वजनिक भएका छैनन्, तर बाबुराम निरन्तर रूपमा समाजवादी केन्द्र बनाउनुपर्ने प्रस्तावसहित दौडमा लागेका छन् ।
असार दोस्रो साता बिहान करिब डेढ घण्टा उपराष्ट्रपति कार्यालयमा प्रचण्ड र बाबुरामले संवाद गरेलगत्तै साँझ बाबुराम कोटेश्वरस्थित माधव नेपालनिवास पुगेका थिए । बाबुरामको त्यो दौडधुप जसपाबाट निस्किँदै गर्दा समाजवादी केन्द्र बनाउने प्रयाससँग जोडिएको थियो ।
बाबुरामनिकट एक नेताले शिलापत्रसँगको कुराकानीमा बाबुरामले उपेन्द्र यादवसँग छुट्टिएपछि प्रचण्डसँग बढाएको हिमचिम पनि त्यसैसँग जोडिएको छ । गत मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्ड–बाबुरामबीच लामो संवाद भयो, साँझ प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग कुराकानी गरे ।
त्यसदिनको छलफलबारे नेता झलनाथ खनालले वामएकताको विषयमा छलफल भएको बताएका छन् । खनालले भने, ‘समग्रमा वामएकता कसरी हुनसक्छ भन्ने विषयमा छलफल भएको थियो ।’ हुन त, बैठकलगत्तै प्रचण्डले वामपन्थीहरू एकता गर्नका लागि नजिक रहेको टिप्पणी गरेका थिए । र,आफूहरू धेरै नजिक रहेको बताएका थिए ।
बाबुराम भट्टराईनिकट एक नेताका अनुसार उपेन्द्र यादवसँग अलग भएपछि बाबुराम सेफल्यान्डिङको प्रयासमा रहेका छन् ।त्यसैका लागि प्रचण्ड र माधव नेपालसँग दोस्तीमात्र बढाइरहेका छैनन्, एकता अभियान नै चलाइरहेका छन् ।
ती नेताले भने, ‘अहिले बाबुरामलाई मैले भनेको समाजवादी केन्द्र बन्यो पनि भन्नुछ, प्रचण्डलाई पनि घाँडो भएको माअोवादबाट उन्मुक्ति लिनुछ । अर्कातिर माधव नेपालको पार्टीको नाम समाजवादी छँदैछ । त्यसैले यी तीनवटा मिलेर नेकपा ९समाजवादी केन्द्र० बनाउने कसरत भइरहेको छ । तर, ठोस भने भइसकेको छैन ।’
माओवादी अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार बाबुरामनिकट पूर्वमाओवादी नेताहरू चाहिँ उपेन्द्रसँग अलग भएपछि प्रचण्डसँगै मिल्नुपर्ने लाइनमा देखिएका छन् । त्यसले बाबुराममाथि दबाब सिर्जना भइरहेको छ । प्रचण्डसँग पटकपटक छलफलमा जुटेका बाबुराम आफैँ चाहिँ माओवादी नाम हुञ्जेल प्रचण्डसँग सहकार्य नगर्ने मनस्थितिमा देखिएको उक्त स्रोतको दाबी छ ।
तर, समाजवादी केन्द्र बनाएर तीनवटा पार्टी मिल्ने हो भने आउने संघीय चुनावी नतिजा पनि राम्रो आउने विश्लेषण गरिरहेका छन् । प्रचण्ड पनि बाबुराम र माधव नेपाल नेतृत्वको पार्टीसँग एकता गर्न चाहिरहेका छन् ।
प्रचण्डनिकट स्रोतले भन्यो, ‘माधव नेपालको पार्टी चुनावसम्म एमालेमा जानसक्छ । त्यसैले पहिला नै एकता गर्नुपर्ने प्रचण्डको सोच रहेको छ ।’ यद्यपि एकीकृत समाजवादीका नेता झलनाथ खनाल भने माअोवादीभन्दा पनि एमालेसँग मिल्नुपर्ने लाइनमा रहेका छन् ।