मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मेयर आचार्यले वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर बुधबार सार्वजनिक गरेका हुन्।
अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको उल्लेख गरेका छन्।
सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति छ। जसमा उनले २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा छ। मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन्। विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उनले विवरणमा भरेका छन्।
आचार्य विभिन्न जलविद्युत आयोजनाका लगानीकर्ता छन् भने करिब एक दर्जन व्यावसायिक संस्थामा आवद्ध छन्। पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा भवन, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा भवन रहेको आचार्यले उल्लेख गरेका छन्।
मेयर आचार्यका नाममा पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ। उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन्। उनीसँग बैंक र हातमा गरी नगद १५ लाख रूपैयाँ भएको समेत सम्पत्ति विवरणमा खुलाएका छन्।
यस्तै उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको पनि उल्लेख गरेका छन्। उनले यो विवरणमा बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन्।
मेयर आचार्यले कुनै पनि वित्तीय गल्ती नगरेको पनि घोषणा गरेका छन्। उनले भनेका छन्, ‘मैले व्यक्तिगत हैसियतमा कुनै पनि बैंकरवित्तीय संस्थाको ऋण चुक्ता गर्न गल्ती नगरेको घोषणा गर्छु।’
पोखरा पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्षको जिम्मेवारीमा हुँदा व्यवसाय सुरु गरेका पोखरा मेयर धनराज आचार्यको स्वामित्वमा दुई दर्जन भन्दा बढी व्यवसाय छन् ।
२०४९ सालमा सानो लगानीमा पोखरा महानगरपालिका–१ बगर पृथ्वीनारायण क्याम्पसको गेटबाहिर प्रोभिजनल स्टोर्सबाट व्यवसाय सुरु गरेका मेयर आचार्य ३० वर्षपछि करोडौंको मालिक बने ।
पोखरा महानगरपालिका–३३, साविक भरतपोखरी गाविसमा जन्मिएका आचार्यले विद्यार्थी राजनीति गर्दै गर्दा व्यवसायमा हात हालेका थिए । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट २०५१ सालमा आचार्य पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका थिए । स्ववियु सभापतिपछि राजनीतिभन्दा बढी व्यवसायमा केन्द्रित बनेका आचार्य अहिले आधा अर्बको सम्पतिको मालिक बनेका हुन् ।
प्रोभिजनल स्टोर्स, हेलो स्टेशनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी जस्ता साना ठूला २ दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व छ ।
एमाले फुटेपछि तत्कालीन माले र फेरि एमालेमै फर्किएर विभिन्न पेशागत संगठनमा आवद्ध आचार्य यसपटक भने फेरि एमाले फुटको फाइदा उठाउँदै एकीकृत समाजवादीबाट पोखराको मेयर बन्न सफल भएका छन् ।
पछिल्लो समय राजनीतिभन्दा ब्यापार व्यवसायमा केन्द्रित भएर फेरि पैसाको बलमा राजनीतिमा फर्किएको भन्दै उनीमाथि प्रश्न उठ्ने गरेको थियो । त्यही बेला मेयर भएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका आचार्यले मेयर बनेको ६० दिनभित्रै सम्पत्ति सार्वजनिक गरेका हुन् ।