नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।
‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, ‘पर्सामा माओवादी कमजोर छ ।
यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’
पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह विना हिचकिचाहट जिम्मेवारी दिने प्रचण्डले बताए । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए ।
नागरिकता संशोधन विधेयक माओवादीकै जोडबलमा संसदबाट पास हुन लागेको प्रचण्डले बताए । ‘मैले संसदमा नागरिकता विद्येयक पेश गरेर हल गरिनेछ भनेको थिए ।
हाम्रै जोडबलमा अहिले नागरिकका समस्याका विषयमा निर्णय हुँदैछ ’ प्रचण्डले भने, ‘त्यसमा हाम्रो पार्टीले ह्वीप पनि जारी गरेको छ । म उपस्थित हुन जानुछ ।’