केही दिनअघि वामदेव गौतमले स्थापना गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट उनैलाई निकालेको घोषणा गरेर चर्चामा आए युवराज सफल । अहिले फेरि उनले अर्को झटारो फ्याकेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा। बाबुराम भट्टराईबीच ‘समाजवादी केन्द्र’ गठन गर्ने विषयमा आज छलफल भएको थियो । उक्त समाचार मिडियामा आएलगत्तै सफल जुर्मुराएका हुन् ।
उनले उक्त समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समाजवादी केन्द्रको ‘सर्वोच्च नेता’ का हैसियतमा विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा सफलले केही सर्तहरु अघि सार्दै ‘समाजवादी केन्द्र’ नाममा आफूले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी वाम नेताहरूलाई सुम्पिन तयार रहेको बताएका छन् । समाजवादी केन्द्र निर्माणका विषयमा भएको छलफल ‘सकारात्मक र एतिहासिक’ रहेको उनको टिप्पणी छ । तर, यसमा एमालेलाई पनि समेट्नुपर्ने सफलले बताए ।
‘अहिले वामपन्थिहरुमध्ये सबैभन्दा ठूलो पार्टी एमाले हो । यो तथ्यलाई स्वीकार्दै यदि केपी ओली पनि सहमतिमा आउनुहुन्छ भने उहाँलार्ई ‘सर्वोच्च नेता’ मानेर जाँदा राम्रो हुन्छ । उहाँपछिका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायतलाई ‘उच्च नेता’ मान्न सकिन्छ ।
उहाँहरुभन्दा पछि वामदेव मात्रै हुनुहुन्छ । त्यसपछि चौंथो पुस्ताका नेताहरुबाट पदाधिकारी बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो,’ सफलले सुनाए ।
सर्वोच्च नेता र ‘उच्च नेता’ सहितको नेतृत्व पंतिको आफ्नो अवधारणा विश्वमै मौलिक रहेको उनको दावी छ । आफूले १० दिनअघि माधव नेपाललाई भेटेर यो प्रस्तावसहितको दस्तावेज बुझाएको उनले बताए । आफ्नो प्रस्तावबारे नेताहरुको सामूहिक वार्तामा छलफलसमेत भएको उनको दावी छ ।
‘डा। बाबुराम भट्टराईसँग भेटका लागि स्वकिय सचिवसँग कुरा गरिरहेका छौं,’ सफलले भने । सफलका अनुसार उनले गत वर्षको भदौ २३ गते ‘समाजवादी केन्द्र’ दर्ता गरेका थिए । सो पार्टीको दर्ता अहिले पनि खारेज नभएको उनले बताए ।