नयाँ पार्टी गठनको तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय सभा सदस्य वामदेव गौतम समाजवादी केन्द्र निर्माण गर्न अन्तिम तयारीमा जुटेका छन ।
साउन २ मा बसेको बैठकले समाजवादी केन्द्र निर्माणबारे छलफल अघि बढाएको थियो । विचार मिल्नेहरूबीच एकता, सिद्धान्तमा सहमत हुनेहरूसँग मोर्चा र सहकार्य गर्न चाहने शक्तिसँग गठबन्धन बनाएर अघि बढ्ने यी दलको तयारी छ । त्यसका लागि शुरुवातमा केन्द्रको संयोजन समिति गठन गरिने छ । अहिले संयोजन समिति बनाउन केही नेता गृहकार्यमा व्यस्त छन् । तर शीर्षस्थ नेता व्यस्त भएकाले ढिलाइ भएको छ ।
राष्ट्रिय राजनीतिमा समान धारणा, अन्तर्राष्ट्रिय मामलामा साझा दृष्टिकोण, पाँच वर्ष स्थिर सरकारको प्रतिवद्धतासहित साझा घोषणापत्र र एउटै चुनाव चिन्ह लिएर अघि बढ्ने तयारीसहित केन्द्र बनाउन लागिएको नेताहरुको दाबी छ । यसको व्यवहारिक कार्यान्वयनका निम्ति संयोजन समितिले काम गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् ।
नेता पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताए। ‘‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको भट्टराई समूह र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,पुनले भने, चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ । १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ । – फाइल तस्बिर