नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्ली पुगेर आधा खुसी फर्किनुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् । कतिपयले प्रचण्डले चिनियाँ नेतासँगको कुरा लगाउन दिल्ली लागेको चर्चा गरेका थिए भने कतिपयले अबको राजनीतिक लाइन लिनका लागि प्रचण्ड दिल्ली गएको चर्चा पनि गरेका थिए ।
प्रचण्डले सामान्य संकेतसमेत नदिएका कारण भ्रमणको मक्सद विस्तारै खुल्दैछ पनि छ । तर, भ्रमण गठबन्धन सत्ता र निर्वाचनसँग जोडिएको कुरा चाहिं छिपेको छैन । प्रचण्डले जब आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरे, त्यसले नेपालको राजनीतिको तलाऊमा अर्को ढुंगा खसेको छ र तलाऊमा तरंग पैदा भएको छ ।
धेरै अनुमान चाहिं २०७९ मंसिरको चुनावपछि कांग्रेस र एमालेभित्रबाट मात्रै प्रधानमन्त्रीका खेलाडी रहेका छन् भन्ने थियो । तर, प्रचण्डले आफू पनि खेलाडीको रुपमा मैदान आउन सक्ने जनाऊ दिएपछि राजनीतिक उतारचढाव देखिन थालेको छ । त्यही राजनीतिक भविष्य र लाइनसँग प्रचण्डको भारत भ्रमणलाई जोडिएको विश्लेषण पनि भइरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीका कारण वाम एकता संभव नभएको चिनियाँ टोलीलाई प्रचण्डले सुनाएको र प्रचण्डका कारण एकता संभव नहुने केपी ओलीले सुनाएको बताइन्छ । उच्चस्तरीय राजनीतिक स्रोतका अनुसार, दुवै नेताको आशय एकै प्रकृतिको भएकोले उनीहरुबीच मिल्ने संभावना कम रहेको बताइएको छ ।
भारत पहिलादेखि नै अहिलेको सत्ता गठबन्धनको पक्षमा थिएन । उसले घोषित, अघोषित दुवै तवरले त्यसको संकेत गरेको थियो । भारतलाई रिझाउन प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी चाकडी गरे त्यसले एकहदसम्म विश्वास जितेका छन्, तर भारत अहिले पनि देउवासँग खुसी रहेको महसुस हुन्न ।
तर, स्थानीय चुनावको परिणामपछि माओवादी जसरी पनि तेस्रो शक्तिको रुपमा उदाउने अनि सत्ता साझेदारीमा निर्णायक हुने देखिएपछि भारत अहिलेको गठबन्धनप्रति सकारात्मक बन्न थालेको अवस्था छ ।
भारतसँग नजिक छु भन्नका लागि गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट हतारमा पास पनि गरिसकेको छ । नागरिकता विधेयक संसदमा पेश गरेर प्रचण्ड भारत जानुले पनि त्यही संकेत गरेको थियो ।
प्रचण्डनिकट नेताहरुको भनाइमा पनि भारतले अहिलेको गठबन्धनलाई निरन्तरता दिन चाहन्छ, ताकि अपेक्षित परिणाम निकाल्न सकियोस् । त्यसका लागि भारतीय स्वार्थ जति छ, अमेरिकी लाइनको दबाब पनि भारतमाथि उत्ति नै रहेको छ ।
अहिलेको गठबन्धन सत्ताभित्र महन्थ ठाकुरको नेतृत्वको लोसपालाई पनि छिराउने भारतीय ग्राण्डडिजाइन रहेको कुरा त उपसभामुखमा सत्ता गठबन्धनको उम्मेदवारलाई मतदान गरेबाट पनि स्पष्ट भयो । त्यहीकारण लोसपाले अन्तिम समयमा उपसभामुख निर्वाचनमा एमालेलाई साथ नदिने निष्कर्षमा पुग्यो ।
भारतीय लाइन अनुसार नै पछिल्ला गतिविधि हुन थालेपछि भारत गठबन्धनकै पक्षमा देखिने संकेत गरेको हो । कतिपयले भारतीय निर्णयमा भूराजनीतिक प्रभाव रहेको पनि बताउने गरेका छन् ।
त्यसैले, प्रचण्डलाई दिल्लीमा भेटघाट गरेर नेपालको सत्ता गठबन्धनको पक्षमा रहेको सन्देश भारतले दिन चाहेको देखिन्छ भने प्रचण्ड चाहिं आउने निर्वाचनपछि प्रधानमन्त्रीको लाइनमा रहेकोले जसरी पनि भारतमा विश्वासको वातावरण बनाउन चाहन्छन् भन्ने देखिन्छ। यी दुवैको स्वार्थ मिलेको अवस्थामा भ्रमण भएको थियो टिप्पणी पनि भइरहेको छ ।
भारतीय जनता पार्टी ९बिजेपी ० पछिल्ला दिनमा नेपालको राजनीतिक परिदृश्यमा धुमिल देखिएको छ । दुुई ठूला शक्तिको लडाईको तेस्रो सानो शक्तिको चहलपहल कम देखिएकोमात्रै हो भन्ने पनि गरिन्छ ।
नेपालको राजनीतिक व्यवस्थापनमा पहिलादेखि नै सक्रिय भारतले चुपचाप अन्य देशको सक्रियता हेरेर बस्छ वा बसेको छ भन्ने होइन । आफ्नो समार्थ्यले भेटेसम्म र देखाउन सक्ने कुशलताको हदसम्म भारतले प्रयास गरिरहेको छ ।
भारतले नेपालमा कूटनीतिक च्यानलमार्फत पहिला धेरै सम्बन्ध बनाउन खोजेको थियो । त्यसलाई करेक्सन गरेर अब राजनीतिक सम्बन्ध पनि विस्तार गर्ने प्रयासमा रहेको छ । उक्त प्रयासमा अब पार्टीहरुसँग बिजेपीले सम्बन्ध विस्तार गर्न चाहेको हो । त्यो प्रयास अनुसार अहिले माओवादीसँग संगत बढाएको पनि भारत र बिजेपीलाई नजिकबाट नियाल्नेहरुबाट विश्लेषण रहेको छ ।
नेपालका दलहरुको सम्बन्ध कांग्रेस आई र भारतीय कम्युनिष्ट पार्टीहरुसँगमात्रै भएकोले बिजेपीले राजनीतिक सम्बन्ध नबनाई नहुने निष्कर्ष निकालेको उनीहरुको विश्लेषण रहेको छ । त्यसैले यसलाई बिजेपीको कोर्स करेक्सनको सन्देशको रुपमा पनि व्याख्या भइरहेको छ ।
वामपन्थी दलहरुलाई मिलाएर आउने निर्वाचनमा उनीहरुको सरकार बनोस् भन्ने चिनियाँ चाहना प्रकट भएको छ । विदेश विभाग प्रमुख लिउ चियाञ्चाओको नेतृत्वमा आएको चिनियाँ टोलीले वामपन्थी नेताहरुलाई त्यही सन्देश दिएका थिए । उनीहरुको आग्रह पनि त्यही थियो । तर, एमाले र माओवादी नेताहरु चिनियाँ प्रस्ताव सहजै कार्यान्वयन गर्ने पक्षमा देखिएका छैन ।
एमाले अध्यक्ष केपी ओलीका कारण वाम एकता संभव नभएको चिनियाँ टोलीलाई प्रचण्डले सुनाएको र प्रचण्डका कारण एकता संभव नहुने केपी ओलीले सुनाएको बताइन्छ । उच्चस्तरीय राजनीतिक स्रोतका अनुसार, दुवै नेताको आशय एकै प्रकृतिको भएकोले उनीहरुबीच मिल्ने संभावना कम रहेको बताइएको छ ।
अमेरिकीहरुको लाइन चाहिं गठबन्धन यही रहे पनि सके कांग्रेस एक्लैको बहुमत आउने वातावरण बनाईदिने नसके साना पार्टीहरु लोसपा र जसपा मिलाउँदा सरकार बन्न सकोस् भन्ने रण्नीतिमा छन् । त्यसो हुँदा दुवै वामपन्थी दलहरु सत्ता बाहिर पुग्छन् ।
अमेरिकी लाइन यसरी अगाडि बढेका कारण प्रचण्ड चाहिं दुुवैतिर दाऊ हानिरहेको पनि बताइन्छ । एमाले र माओवादीका नेताहरुबीच भेटवार्ता हुँदा यिनै दुुईवटा विषयमा धेरै छलफल हुने गरेको पनि बताइन्छ । त्यसैले, अहिले प्रचण्ड सकेसम्म आफू रणनीतिक खेलाडी हुने गरी नै तालमेल गर्ने खेलमा रहेका छन् ।