अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको च्याम्पियन टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै च्याम्पियन बनेबापत पाउने ५ हजार अमेरिकी डलरसँगै टोलीका हरेक सदस्यलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
नेपालले सोमबार घरेलु मैदानमा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको च्याम्पियन बनेको हो । नेपालले सन् १९८४ अर्थात ३७ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यतिबेला दक्षिण एसियाली खेलकुद महासंघ (साग)मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । समग्रमा नेपालको यो पाँचांै उपाधि हो ।
यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो । नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरेका थिए । सन्जोकले दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भएका थिए ।
विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको आयोजना गरेको थियो । जसमा आयोजक नेपालसँगै बंगलादेश र किर्गिस्तानको यू–२३ टोलीको सहभागिता रहेको थियो । १० चैतबाट सुरु भएको थ्री नेसन्स कपमा शीर्ष २ टोली नेपाल र बंगलादेशले फाइनल खेलेको थियो । लिग चरणमा बंगलादेश पहिलो र दोस्रो हुदा किर्गिस्तान लिग चरणबाटै बाहिरिएको थियो ।