समाजवादी केन्द्र निर्माणको तयारीमा रहेका पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । २०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो तहका नेताहरुले कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए ।
भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए ।
भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो । यस्तै, समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् ।
गौतमले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डलाई भेटेका छन् । उनले समाजवादी केन्द्र निर्माण, वामपन्थी एकतालगायतका विषयमा छलफल गरेको बुझिएको छ ।
गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको बताए । उनी प्रचण्डलाई नेतृत्वमा राखेर समाजवादी केन्द्र बनाउन सक्रिय भएका छन् । प्रचण्डले पनि समाजवादी केन्द्र बनाउने देखि आफू चुनावपछि प्रधानमन्त्री बन्ने संकेतहरु गर्न थालेका छन् ।
समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई, वामदेव गौतम रहने निश्चितप्रायः छ । बाबुरामले नेपाल समाजवादी पार्टी नै बनाइसकेका छन् ।
कम्युनिस्ट सिद्धान्त त्याग्ने कि नत्याग्ने विषयमा भने प्रचण्ड र बाबुरामबीच विमति छ । यसमा कुरा मिलेमा मात्र बाबुराम समाजवादी केन्द्रमा रहनेछन् ।

