पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेलबारे मुख खोलेका छन् । उनले एमालेसँग गठबन्धन हुन नसक्ने प्रष्ट पारेका हुन् ।
आज बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उनले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए ।
सो क्रममा प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन नै चुनावसम्म कायम रहने भएकाले दायाँ बायाँ नसोच्न पनि नेताहरुलाई आग्रह गरे । यद्यपि एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउनेबारे भने छलफल चलिरहेको उनको भनाई छ ।
त्यसअघि बैठकमा नेताहरुले पाँच दलीय गठबन्धन, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीतिलगायत समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । त्यस्तै, पदाधिकारी चयनबारे पनि नेताहरुले कुरा राखेको बताइएको छ ।माओवादी स्थायी समिति बैठक भोलि पनि बस्दैछ ।
गठबन्धन लामै समयसम्म कायम रहनेमा प्रचण्ड ढुक्क
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेससँगको गठबन्धनलाई निरन्तरता दिने बताए ।
आज पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी समितिको बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचनसम्म यही गठबन्धन कामय रहने बताए । उनले विचार मिल्ने सबै वामपन्थी दलहरूसँग कार्यगत एकता गरेर जानेसमेत उल्लेख गरे ।
बैठकमा संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे लामो ब्रिफिङ गरिएको थियो । भोलि बिहान ८ बजे पुनः बस्ने बैठकमा पोलिटब्युरो चयनबारे छलफल हुने बताइएको छ ।