दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन्। सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन्। यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आएको बताइएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको सूचनाअनुसार लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस विषयमा परराष्ट्रले औपचारिक जानकारी नगराए पनि मन्त्रालय स्रोतले शुक्रबार मध्याह्न ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नेछन्।
अमेरिकी राजदूतावासका अनुसार लु तीन सदस्यीय टोलीसहित चार्टर्ड विमानमार्फत भारत हुँदै काठमाडौं आएका हुन्। लुको नियमित भ्रमण भएको राजदूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यस्तै, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स प्रदान गरेका छन् । अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिँदै आएको उक्त अवार्ड बिहीबार सहायक विदेशमन्त्री लुले पूर्णालाई प्रदान गरेका हुन् ।
‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गरेको दूतावासले जनाएको छ ।
दूतावासले बिहीबार व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्ने सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको थियो ।
गोष्ठीमा नेपालको व्यावसायिक वातावरण र लगानी सम्बन्धी नीतिगत पहलको विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक संघका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समूह तथा सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रमले दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानी पी। मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आ(आफ्नो विचार राखेका थिए ।