काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।धेरै समय पछि बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौँमा आएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि खानेपानी लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने आशा सहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।
कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभयो । लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उहाँको भनाइ छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि सेयर जारी गर्छौं,” प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनु भयो ।
एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४% सेयर छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्सलगायत चारवटा निजी क्षेत्रका संस्थाको १२% सेयर छ । कर्मचारी ट्रस्टका लागि ४% र कर्मचारीका लागि ५% सेयर छ,बाँकी १५% सेयर सर्वसाधारणलाई दिने व्यवस्था छ ।