धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न सहरी विकास मन्त्री मेटमणि चौधरी धरान उगएका छन् । चौधरीले साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन्। धरान पुगेका सहरी विकास मन्त्रीको स्वागतमा मेयर साम्पाङले आफ्नै कार्यालयमा कार्यक्रम गरेका थिए।
‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ। त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछुु, आफ्नो स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन्। हाँसोको विषय बनाउँछन्। तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि।’
हर्क साम्पाङबाट नेपाली समाजले मात्रै नभएर अन्यले पनि सिक्नुपर्ने भन्दै चौधरीले प्रशंसा गरे। ‘मेयर साुवले सुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु। खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु’, उनले भने।
मन्त्रीको कुरा सुनेपछि मेयर साम्पाङ मुस्कुराएका थिए। चौधरीलाई मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आऊँ त मन्त्रीज्यू ? मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे। धरानको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरे।
यस्तै, चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् । सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठूलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए ।
सहरी विकास मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यसखाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए ।
सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो । त्यसैगरि कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा। रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा। इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।