माओवादी केन्द्रमा पेचिलो बन्दै आएको पदाधिकारी चयनको विषय छिनोफानो हुन लागेको छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेपछि अध्यक्ष दाहालले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेका थिएनन् ।
तर, महासचिवका दाबेदार शर्मा र पुनलाई सँगै राखेर गरेको छलफलमा दुवै नेताले अध्यक्षले जसलाई चयन गरेपनि मान्य हुने भन्दै पदाधिकारी चयनको लागि बाटो खोलिदिएका थिए ।
अर्थमन्त्रालयमा शर्मालाई नै पठाउन दाहाल तयार भएका छन् । उनले शर्मालाई अर्थमन्त्रालयमा पठाउने र महासचिवको जिम्मेवारी भने पुनलाई दिने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज आइतबार दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको हो।
संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ। आजको बैठकबाट यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका ती सबै एजेन्डामा निर्णय हुने नेताहरूले बताएका थिए।
अर्को बैठकको समय भने तोकिएको छैन। अर्को बैठक पार्टी अध्यक्ष प्रचण्ड जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।