२२ असारमा राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनस् अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।
यता, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् । प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताए ।
‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भने ।
उनले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए । नेत्रविक्रम चन्द ‘वि प्लव’ प्रति लक्षित गर्दै उनले भने, ‘वि’द्रोहका नाममा बन्दु’क बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।’