पछिल्लो समयको डाटा हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरु ३३ लाख हाराहारीमा पुगिसकेका छन । दैनिक रुपमा ५ लाखले दोस्रो बजारमा कारोबार पनि गरिरहेका छन भने १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।
गतबर्षको लकडाउन पछि नेपाली शेयर बजारमा लगानीकर्ताको निकै चासो र आकर्षण बढिरहेको छ । त्यति मात्र होइने नेपाली शेयर बजारले अहिले सम्मकै उच्च विन्द समेत यहि अवधिमा कायम गरेको छ । विगतका सबै रेकर्ड तोडेको नेपाली शेयर बजारमा बढ्दो आकर्षणसँगै प्राथमिक शेयरको निकै चर्चा हुने गरेको छ ।
यसै विच रुरु जलविद्युत आयोजनाले चैत्र २० गते शुक्रबारबाट आईपीओ सार्वजनिक गर्ने भएको छ । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको शेयर एक सय रुपैयाँमा नभएर प्रिमियममा सार्वजनिक हुँदै छ । यो कम्पनीको प्रति शेयर मूल्य १ सय २० रुपैयाँ हुने छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयरमा चैत्र २४ गते सम्म आवेदन दिन सकिने छ भने यसलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यो भनेको जोखिम महन गर्न सक्ने औषत रहेको जनाउँछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ । यो कम्पनीको शेयरमा केवल 10 कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।