राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई सदर नगर्ने सम्भावना बढेको छ । हालै दुवै संसदले पारित गरी सभामुखले प्रमाणिकरण गरिसकेको नागरिकता विधेयकलाई राष्ट्रपतिले सदर गरेपछि मात्रै ऐनको रुप लिन्छ ।
स्रोतका अनुसार, राष्ट्रपतिले राजा वीरेन्द्रले झैं उक्त विधेयकलाई पुनर्विचार गर्न भन्दै फिर्ता पठाउने सम्भावना पनि छ । यदि त्यस्तो भयो भने निर्वाचन मिति तोक्ने कुरा अगाडि–पछाडि हुन सक्छ । नागरिकता विधेयक र चुनावका बीचमा कुनै सम्बन्ध छैन ।
यदि यसैमा सम्बन्ध बनाउन खोजिएको हो भने एउटै तत्त्व हुनसक्छ, वैवाहिक अंगीकृत नागरिकता पाउने पाँच लाख नयाँ नागरिकलाई पनि मताधिकार दिलाउने । तर, निर्वाचन आयोगले चुनावको मिति घोषणा भएपछि मतदाता नामावली हेरफेर गर्नसक्ने कानुनी व्यवस्था छैन ।
राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल चैत १० गते सकिँदैछ । संसदले चाह्यो भने राष्ट्रपतिको पदावधि थप हुन पनि सक्छ तर अनेकलाई भाग पुर्याउनुपर्ने हुँदा यही गठबन्धनले एमालेको पूर्वउपाध्यक्ष रहिसक्नुभएकी वर्तमान राष्ट्रपतिको म्याद केही महिनासम्म लम्ब्याउने स्थिति देखिन्न ।
यसर्थ मंसिर ४ मा चुनाव हुने संभावना प्रवल छ । निर्वाचन ऐनको व्यवस्थाअनुसार पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन भइसकेको हुनुपर्छ । त्यसअनुसार फागुन १० अगाडि कोही न कोही नेपाली नागरिक राष्ट्रपति पदमा निर्वाचित भइसक्ने पक्का छ ।
त्यसभन्दा पहिले उक्त निर्वाचन गराउनका लागि मतदाता अर्थात् प्रदेश र संघीय संसदका नयाँ सदस्यहरुले शपथ लिइसकेको हुनुपर्छ । यदि मंसिर पहिलो साता प्रतिनिधिसभा सदस्यको निर्वाचन भयो भने पुसभित्र सम्पूर्ण मतपरिणाम आइसकेको हुन्छ । र, त्यसलगत्तै माघमा राष्ट्रपति निर्वाचनको बाटो खुल्छ ।
यता, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकै मितिलाई लिएर झमेला चलिरहेको छ । अर्थमन्त्रीमा पुनः नियुक्त जनार्दन शर्माको शपथका बेला आइतबार राष्ट्रपति निवासमा भेटिएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन मितिबारे सरोकार राख्दै ‘निर्णय गर्ने भए गरिहाल्नुस्, नत्र पत्रकार सम्मेलन गरिदिन्छु’ भनी मिति तोक्न दबाब दिएको बताइन्छ ।
उनले भनेका थिए, ‘मैले पत्रकार सम्मेलन गरेर सबै कुरा छरपष्ट पारिसकेपछि बल्ल मिति तोक्नुभयो भने तपाईंहरुको नम्बर घट्छ, मेरो बढ्छ । मलाई नम्बर बढाउन मन छैन, बरु यहाँहरुकै नम्बर बढोस् ।’
जवाफमा मन्त्री कार्कीले ‘अब बस्ने क्याबिनेटले गर्छ, ढुक्क हुनुस्’ भनेका थिए । यसअनुसार सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्ने छ ।