अर्थसचिव मधु मरासिनीले सरुवा मागेका छन् । मरासिनी अर्थबाट बाहिरिने निश्चित भएसँगै अब अर्थसचिवको जिम्मेवारी कसले पाउला भन्ने विषयमा चासो बढेको छ । मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएर जाने लगभग निश्चित छ । सामान्यतया अर्थसचिवमा अर्थमा नै बसेर काम गरेका अर्थकै ‘क्याडर’ ल्याइने गरिएको छ । अब आउने सचिवमा पनि अर्थकै क्याडरबीच प्रतिस्पर्धा छ ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलबीच अर्थसचिवका लागि प्रतिस्पर्धा चलिरहेको हो ।
अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र नेपाल राष्ट्र बैंक लगायतका निकायसँग समन्वयन गरेर काम गर्ने र बजेट कार्यान्वयनलाई लिड गर्न सक्ने हिसाबले अर्याल उपयुक्त मानिन्छन् ।
अर्यालले सहसचिव हुँदा लामो समय अर्थ मन्त्रालको अन्तर्राष्ट्रिय समन्वय शाखा तथा बजेट शाखामा बसेर काम गरेका थिए । उनले वाणिज्य मन्त्रालय र वित्त आयोगमा पनि सचिवको जिम्मेवारी निभाइसकेका छन् । त्यस्तै सहसचिव हुँदा बजेट महाशाखामा बसेर काम गरेका केवलप्रसाद भण्डारी पनि अर्थसचिवको रूपमा मुख्य दाबेदार रहेका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगमा छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पोखरेल पनि अर्थ सचिवको चर्चामा छन् । उनी अर्थ मन्त्रालयमा लामो समय काम गरेका प्रशासक हुन् । यसबाहेक प्रधानमन्त्री कार्यालयमा रहेका सचिव डा. रामप्रसाद घिमिरेको नाम पनि अर्थसचिवका लागि चर्चामा छ ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयमा सचिवहरू हेरफेर गर्न लागेको छ । ११ साउनदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिवविहीन छ ।
अन्य केही मन्त्रालयका सचिवहरू पनि हेरफेर गर्ने सरकारको तयारी रहेको छ । पर्यटन सचिव महेश्वर न्यौपानेको अवकाशपछि उक्त मन्त्रालयमा नयाँ सचिव आइसकेका छैनन् । पर्यटनमा आउनका लागि आधा दर्जन सचिवहरूले आंकाक्षा राखेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सूर्यमणि गौतम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, डा। गोपी खनाल, अर्जुन पोखरेललगायतका सचिवहरू पर्यटनका लागि प्रयासमा रहेका छन् । पर्यटनको सचिवमा सुरेश आचार्यले पनि चाहना राखेका छन् ।
पर्यटनमा लामो समय सहसचिव भएका आचार्य प्राविधिक तर्फबाट सचिव भएका कारण उनी पर्यटनको सचिव हुने सम्भावना कम रहेको चर्चा पनि चल्ने गरेको छ । त्यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको पनि सरुवा हुने सम्भावना रहेको छ ।
अर्यालको सरुवाका लागि विभिन्न मेनपावर कम्पनीहरूले च’लखेल गरिरहेको आरो’प लागेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्दैछ । चुनाव घोषणा भएपछि सरुवा गर्न नमिल्ने भएका कारण आज सचिवहरूको सरुवा गर्न लागेको हो ।

