पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झण्डै डेढ बर्षअघि नै चालेको कदम वर्तमान सरकारले अहिले चालेको छ । ओलीले डेढ बर्षअघि नै चुनावको मिति घोषणा गरेका थिए । ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित रहेको बताएका छन् ।
विहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तक्र्रियामा अध्यक्ष ओलीले मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निष्पक्ष हुनुपर्ने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने सरकारको निर्णय
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एकै चरणमा उक्त संसदीय निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी मन्त्री निकट स्रोतले जनाएको छ ।
यसअघि हिजो बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले मंसिर ४ मै संसदीय चुनाव गर्ने सहमति गर्दै सरकारलाई सुझाव दिएको थियो ।
निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो । सोही आधारमा आजको मन्त्रिपरिषद बैठकले चुनावको मिति यकीन गरेको बताइएको छ ।