एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पर्क गर्न खोज्दा फोन नलागेको खुलेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी मिति घोषणा गर्नुअघि ओलीसँग छलफलका लागि प्रयास गरेपनि प्राविधिक कारणले सफल नभएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सम्पर्कका लागि ओलीलाई फोन गर्दा नलागेको उनले बताएका हुन् । एमाले नेताहरुले आफूहरुसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकार प्रतिपक्षी दलप्रति असहिष्णु बनेको गुनासो गरिरहेका बेला कार्कीको यस्तो प्रतिक्रिया आएको हो ।
आज बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले निर्वाचन घोषणा गर्दा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्ने कुराको खण्डन गरे ।
सरकारले घोषणा गरेको चुनावको मिति स्वाभाविक भएकाले सबै दल चुनावको तयारीमा लाग्ने प्रवक्ता कार्कीको विश्वास छ । आफूलाई सोधनी नभएकोमा गुनासो पोखेको एमालेले पनि चुनाव घोषणालाई सकारात्मक भन्दै खुशी व्यक्त गरेको छ ।
संघ र प्रदेशको चुनाव मंसिर ४ मा एकै चरणमा गर्ने सरकारको घोषणा
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।
यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हो।