के तपाई धितोपत्र बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदि लगानी गर्ने सोचमा हुनुहुन्छ भने तपाईँले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दा ध्यान दिनुपर्ने कुराहरू : १. निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
२. विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् । ३. धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् ।
४. धितोपत्रको निष्कासन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार (Stock Exchange) मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस् । धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दाः १. धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् ।
२. कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् । ३. पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।
४. कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशील सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने व्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।
५. धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिबेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने व्यवस्था रहेअनुसार रकम र प्रमाणपत्र बुझ्न र बुझाउन सजग रहनुहोस् ।
६. खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।
ध्यान दिनुपर्ने अन्य कुराहरु : १. धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले व्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् । २. आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नबिर्सनुहोस् ।
३. धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् । ४. धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् । (श्राेत : नेपाल धिताेपत्र बाेर्ड)