नेकपा एकीकृत समाजवादी गठन गर्दा मुख्य भूमिका निभाएकी नेतृ रामकुमारी झाँक्री आफ्नो पार्टी अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेृको खुलेको छ । आफूले मन्त्री हुँदा गरेका सबै राम्रा निर्णयहरु उल्ट्याउन लगाएको भन्दै झाँक्रीले नेपालसँग एक महिनादेखि कुनै पनि संवाद नभएको बताएकी छन् ।
बुधबार प्राइभ टिभीमा उनले माधव नेपालसँग सम्वन्ध चिस्सिएको स्वीकार गरेकी हुन् । मन्त्रीबाट हटाएपछि नेपाल झाँक्री र माधव नेपालबीच बोलचाल बन्द रहेको छ । त्यसपछि आफू माधव नेपाललाई भेटन् नगएको उनले स्वीकार गरिन् ।
माधव नेपालले पनि नबोलाएको र काम पनि नपरेकाले मात्रै भेट्न नगएको तर्क गर्दै झाँक्रीले आफूले मन्त्री हुँदा गरेका निर्णयहरु हालका आफ्नो पार्टीबाट मन्त्री भएका मेटमणि चौधरीमार्फत उल्ट्याउन माधव नेपालले लगाएको खु’लासा गरिन् ।
स्वयम माधव नेपालले पनि सार्वजनिक कार्यक्रममा मन्त्रीको जिम्मेवारीबाट हटाउँदैमा झाँक्रीले बोलचाल बन्द गरेको गुनासो गरेका थिए ।
मन्त्रीबाट हटाउने निर्णय पार्टीको भएकाले माधव नेपालप्रति आफ्नो असन्तुष्टि भएर बोलचाल बन्द गरेको कुरा सत्य नभएको झाँक्रीको तर्क छ । उनले माधव नेपालका कतिपय कार्यशैलीप्रति असन्तुष्टि रहेको बताउँदै त्यस्तो असन्तुष्टि हिजो केपी ओली हुँदा पनि रहेको बताइन् ।
मन्त्री बदलीमा कुनै गुनासो नरहेको र चुनाव घोषणापछि आआफ्नो काममा खटिने पनि उनले बताइन् ।
साथै, झाँक्रीले आफूलाई पार्टीले टिकट नदिए पनि र सत्ता गठवन्धनको साझा उम्मेदवार नभए पनि गुल्मी २ बाट आफू प्रत्यक्ष उम्मेदवारी दिने बताइन् ।