नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला सत्तारूढ गठबन्धनकै पक्षमा खुलेका छन् । उनले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।
सञ्चारकर्मीसँग आज चितवनमा कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको उनको भनाइ छ ।
नेता शशांकले भने, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एकसय सिट पाउनु पर्ने उनको दाबी छ ।
तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले भने, “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई छ ।
संविधान र एमाले अध्यक्ष ओलीको प्रति’गमनको विरु’द्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए । उनले भने “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।”
देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई छ । तर, कांग्रेसकै नेता शेखर कोइरालाले भने गठबन्धन छोडेर एक्लै लड्नुपर्ने बताएका छन् । तर, उनकै भाई शशांक भने सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका छन् ।