काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा काठमाडौं उपत्यकामा नयाँ नियम लागू भएको छ । काठमाडौं उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अघि बढाइएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारीसाधनमा टाँसेर कार्यक्रम उद्घाटन गरेका थिए।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउन आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका सय विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन्।
हर्नले ध्वनी प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रम पुनः सुरु गरिएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले बताए।
काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ गते नो हर्न लागू गरिएको थियो। जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।
कार्यक्रम रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट सुरुवात भएको थियो। साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलन्टियर र पद्मकन्या क्यामप्सका प्राध्यापक र विद्दयार्थीले सिंहदरबार चोकमा सार्वजनिक तथा निजी सवारी साधनमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए।
उक्त कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसीस्थित कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो। कार्यक्रममा २ सय जना जतिको सहभागिता थियो।