आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचमा ठूलै नेताहरुले निर्वाचन क्षेत्र फेर्न लागेको चर्चा भइरहेको छ । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा अहिले अर्कै क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको स्रोतको दाबी छ ।
कांग्रेसभित्र पनि आरजु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावपछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेको भन्ने चर्चा व्यापक छ । त्यसैले आरजु सहज निर्वाचन क्षेत्रबाट निर्वाचित हुने चाहनामा रहेको स्रोतको दाबी छ ।
तर कांग्रेसका एक पदाधिकारीका अनुसार दुई नेताबीच भएको भनिएको सम्झौता ‘पूर्ण सही होइन र पूरै गलत पनि होइन’ । ती पदाधिकारीले भने, “यो पूरै असत्य पनि होइन, तर यस्तो अवस्था हुँदैन । उहाँहरुबीच सहमति भएको कुरा हामीले मान्नुपर्छ भन्ने छैन । हामीलाई मान्य हुने कुरा पनि भएन ।”
अहिले कांग्रेसमा चुनावपछि प्रधानमन्त्रीको दौडमा आफू पनि रहेको महामन्त्री गगन थापाले सार्वजनिकरुपमा भनिसकेका छन् । त्यसैले त्यस्तो सहमति कार्यान्वयनमा जाने कुरा सीधै नकारिने ती पदाधिकारीको तर्क छ ।
सत्ता गठबन्धनमा नेताहरुबीचमा समेत देउवा र पत्नी आरजुको निर्वाचन क्षेत्रलाई लिएर चर्चा हुँदै आएको छ । डडेलधुराबाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका देउवा यसपटक कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ मा गएर डडेलधुरा आरजुका लागि छाडिदिन सक्ने अवस्थामा पुगेको कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् ।
यसअघि देउवा ०६४ को संविधानसभा निर्वाचनमा कञ्चनपुरको तत्कालीन ४ नम्बर ९हालको ३० र डडेल्धुरबाट निर्वाचित भएका थिए । पछि उनले कञ्चनपुर छाडेका थिए ।
२०४८, २०५१, २०५६, २०७४ को प्रतिनिधिसभा निर्वाचन तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेलधुराबाट निर्वाचित भएका थिए ।
यसबाहेक उनी २०७० मा कैलाली ६ सहित डडेलधुराबाट समेत देउवा निर्वाचित भएका थिए । देउवा पत्नी आरजु कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । उनी पराजित भएकी थिइन् ।
निर्वाचन क्षेत्र परिवर्तनबारे देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग पनि पटक–पटक छलफल गरेको नेताहरु बताउँछन् । शेरबहादुर देउवा डडेलधुराबाटै चुनावी प्रतिष्पर्धामा उत्रिए आरजु कञ्चनपुर जाने सम्भावना रहेको एक नेता बताउँछन् ।
नेपाल प्रेस युनियन कैलालीले २०७८ चैत १० गते आयोजना गरेको पत्रकार सम्मेलनमा डा। आरजु राणा देउवाले आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उमेदवारी दिने तयारीमा रहेको बताएकी थिइन् ।
“बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्ला हो । म पहिले पनि यहीँबाट चुनाव लडेकाले फेरि यहीँबाट लड्छु,” उनले भनेकी थिइन्, “सर्लाहीका साथीहरूले पनि आउ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ । तर मैले ४–५ वर्षदेखि यहीँ काम गरिरहेकाले कैलालीबाटै उमेदवारी दिन्छु ।”
त्यसपछि मुलुकको राजनीतिक अवस्था निकै फेरिएको हुँदा परिस्थितिअनुसार आरजु ‘डेन्जर जोन’ बाहेकको क्षेत्र जान चाहिन्छन् ।
२०७४ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ५ बाट चनाव लडेर पराजित भएकी डा। राणा कैलाली, कञ्चनपुर र बर्दियाबाट निर्वाचन लड्ने तयारीमा रहेको पनि सुदूरपश्चिमका कांग्रेस नेताहरुबीच चर्चा रहने गरेको छ ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५बाट डा। आरजु झन्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन् । उनी वाम गठबन्धनका एमाले उमेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए देउवाले २२ हजार ३२२ मत पाएकी थिइन् ।