धवलागिरि साहित्य प्रतिष्ठानले दिँदै आएको ‘बम–सरस्वती स्मृति पुरस्कार’ यो वर्ष साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ । लामो समयदेखि नेपाली साहित्यमा सक्रिय रहेबापत सो पुरस्कार लाकोजूलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, डा. षडानन्द पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिएको छ । काजी रोशनका बारेमा लेखिएको खोजमूलक कृति ‘काजी रोशनको काव्य साधना’का लागि पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डा. रामप्रसाद उपाध्यायले साहित्यकार लाकोजू र पौडेललाई सम्मानपत्र, दोसल्ला र नगद राशिसहितको पुरस्कार प्रदान गरे ।
कार्यक्रममा राधिका कल्पितको ‘बरफका कोइला’ नामक कृति पनि सार्वजनिक गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष काजी रोशनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. रामप्रसाद उपाध्याय, काजी रोशन, सूर्यप्रसाद लाकोजू, डा. षडानन्द पौडेल, विजयराम कर्माचार्य, राधिका कल्पितलगायतले आफ्नो धारणा राखेका थिए ।