भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने बताएको छ । मंगलबार मात्र भारतबाट मूल्य घटेर पेट्रोलियम पदार्थ प्राप्त भए पनि अझै ऋणको दायित्व रहेकाले हाललाई मूल्य यथावत् नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नयाँ मूल्य पछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए । उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी छ ।
सरकार र वाणिज्य बौंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब वक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको दाबी छ ।
मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताए ।
यो पनि,
रसुवागढीको आईपीओमा मागभन्दा बढी आवेदन
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले गएको असार १३ गतेदेखि निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ।
कम्पनीका अनुसार आवेदन दिने अन्तिम दिन आज मंगलबार साँझसम्म ४१ हजार ५८९ आवेदकले ७७ लाख ८८ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन्। आवदेकबाट ७७ करोड ८८ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ। यो मागभन्दा ९ लाख ४६ हजार ६८० कित्ता बढी हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन व्यवस्था थियो।
यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गरेको छ। कम्पनीले गोसाइँकुण्ड गाउँपालिका(१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका(४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे, गोसाइँकुण्ड गाउँपालिका(४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरेको छ।

