काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका छन् । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले दिनानुदिन आफूलाई सचेत गराइरहेका बेला बालेनको शान्त स्वभावको जवाफ आएको हो ।
‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ‘ उनले भनेका छन् ।
यस किसिमको चासो र खब रदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ । शुक्रबार २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् ।
यता, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले सडकमा थुप्रिएको फोहोर उठाउने अभियानको नेतृत्व गरेका छन्। शनिबार हरिवन–१०, नयाँरोडमा सुरक्षाकर्मी र स्थानीय बासिन्दासँगै मेयर बुढाथोकी पनि सडक सफाइ अभियानमा खटिएका हुन्।
मेयर बुढाथोकीको नेतृत्वमा आज बिहान नयाँरोड–बरहथवा सडकखण्डको झण्डै तीन सय मिटर सडक क्षेत्र सफा गरिएको छ। सफाइ अभियानमा माओवादी केन्द्रका नेतारकार्यकर्तासँगै सश स्त्र प्रहरी र स्थानीय खटिएका थिए।
हरेक साताको शनिबार जनश्रमदानमार्फत सार्वजनिक काम गर्ने अभियानअन्तर्गत आज सडकको फोहोर सफा गरिएको मेयर बुढाथोकीले बताए। अघिल्लो शनिबार मेयर बुढाथोकी स्थानीयसँगै हरिवन–क्यानेश्वर सडक निर्माणका लागि ढुं गा बोक्ने अभियानमा सहभागी भएका थिए।
‘आफ्नो गाउँ, टोल, सहर–बजारमा फोहोर गर्नु हुँदैन, फोहोर भए आफैँले सफा गर्नुपर्छ’ भन्ने सन्देश दिन सडक सफाइ अभियान सञ्चालन गरिएको मेयर बुढाथोकीले बताए।
अभियानमा सहभागीहरूले फुटपाथमा फालिएका प्लास्टिक, बोतल, चाउचाउ, बिस्कुटका खोललगायतका फोहोर संकलन गर्ने, सडक किनारमा उम्रिएका झारपात उखेल्ने, सडकमा थुपारिएको निर्माण सामग्री हटाउने, सडकको नाली सफा गर्नेलगाय काम गरेका थिए।
‘सडकअगाडि फोहोर थुपार्ने, सडक अतिक्रमण गरेर निर्माण सामग्री राख्ने, पसल र घरभित्रको फोहोर सडकमा ल्याएर फाल्ने अनि चिया पसलमा बसेर जनप्रतिनिधि, नेता, ठेकेदार र कर्मचारीलाई गाली गर्ने परिपाटीको अन्त्य हुनुपर्छ’, मेयर बुढाथोकीले भने, ‘आफ्नो घरअगाडि फोहोर थुपार्नु हुँदैन। फोहोर भए आफैँले व्यवस्थापन गर्नुपर्छ भन्ने सामान्य सन्देश दिन हामीले फोहोर संकलन गरेका हौँ।’
उनले सुन्दर, सफा नगर बनाउन स्थानीय आफैँ जागरुक हुनपर्नेमा जोड दिए। ‘हरेक साताको शनिबार एक दिन हामी श्रमदानमार्फत कुनै न कुनै सामाजिक काम गर्ने छौँ’, बुढाथोकीले भने, ‘यसले नागरिकमा सामाजिक कामप्रति सकारात्मक दृष्टिकोण निर्माणमा पनि सहयोग पुग्छ। हाम्रो नगर सफा, सुन्दर, सभ्य र समृद्ध पनि बन्छ।’

