सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो। टियु क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन्। डोली भट्टले अविजित २२ रन बनाइन्। रेवती धामी १८ रनमा आउट हुँदा कविता जोशी १० रनमा अविजित रहिन्। ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १/१ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन्। अविजित रहेका कन्चनले ६३ रन बनाए। यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रन जोडिन्।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन्।