पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरना उपमहानरपालिकाका मेयर हर्क साम्पाङ राईसँग गरेको वाचा पूरा गरेका छन् । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईसँगको वाचा पूरा गरेका हुन् ।
यसअघि काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरेको दाहालले बताए । उनले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् ।
वृक्षारोपण गर्दै उनले भने, ‘मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एकजना प्रगतिशिल गीतकार पनि, असाध्यै लोकप्रिय जेबी टुहुरेलाई सम्झेको छु । आज जेबी टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उहाँकै लागि समर्पित भएको म घोषणा गर्न चाहान्छु ।’
उनले अगाडि भनेका छन्, ‘मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।’
अहिले गरिरहेका कामलाई निरन्तरता दिन पनि दाहालले मेयर राईलाई सुझाव दिएका छन् । त्यस्तै मेयर राई र उपमेयर अइन्द्रविक्रम बेघाको जोडी असाध्यै मिलेको पनि उनले बताए । प्रचण्डले हर्कले काम गर्दा माओवादीले नै गरेजस्तो लागेको पनि बताएका छन् ।
दाहालले अगाडि भनेका छन्, ‘यसमा निरन्तर रूपमा डटिराख्नु पर्यो । कति सक्नु हुन्छ भन्ने मेरो शुभकामना छ । डटिराख्नुहोस् र जनतासँग जोडिइराख्नुहोस् । जनताको साथ पाइराख्नुहोस् ।
मेरो र हाम्रो साथीहरूको साथ छँदै छ । उपमेयर हाम्रै पार्टीबाट हुनुहुन्छ उहाँहरूको जोडी असाध्यै मिलेको छ । स्वभाव पनि मिलेको छ काम पनि मिलेको छ । धरान उपमहानगरका लागि राम्रो अवसर हो ।’
दुई साताअघि काठमाडौँ आएका बेला मेयर साम्पाङले शीर्ष नेताहरूदेखि मन्त्रीहरूलाई श्रमदानको लागि निम्तो दिएका थिए । उनले गत साउन ३१ गते प्रचण्ड निवास खुमलटार पुगेरै प्रचण्डलाई श्रमदानको लागि विशेष निम्तो दिएका हुन् ।

