राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएको छ। राष्ट्रपति भण्डारी खनाललाई भेट्न शनिबार उनकै निवास डल्लु पुगेकी हुन्। भेटपछि खनालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए। ‘मलाई खुशी लागेको छ।
मैले उहाँलाई हार्दिक स्वागत गरें। परिवारको तर्फबाट पनि स्वागत गरें’, खनालले आफ्नो निवासमा उपस्थित पत्रकारहरूलाई भने। खनालले अहिलेको वर्तमान स्थितिको बारेमा पनि कुरा भएको बताए। ‘उहाँले (राष्ट्रपतिले) पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्। सुदृढ भएर जाओस् मेरो त्यही चाहना छ भन्नुभयो’, खनालले भने।
उनीहरूबीच खनालको स्वास्थ्य स्थितिको विषयमा पनि कुरा भएको थियो। पछिल्लो समय खनालको स्वास्थ्यमा केही समस्या देखिएको छ। उनी केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए। राष्ट्रपति भण्डारीले डल्लुमै रहेको इतिहास संशोधन मण्डलको पुस्तकालयको भ्रमण गरेकी थिइन्। त्यसपछि उनी खनाललाई भेट्न पुगेकी हुन्।