नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ। हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ।
माओवादी केन्द्रको संसदीय दलको साउन २६ गतेको बैठकले हालका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी सरकारलाई बिहीबार मात्रै दिएको थियो। गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै बाँकी रहेका दुई मन्त्रीलाई पनि फिर्ता बोलाउने चर्चा चलेको थियो।
माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी सुर्खेतबाट निर्वाचित सांसद विष्ट र जाजरकोटबाट निर्वाचित सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा साबिककैै निर्वाचन क्षेत्रबाट टिकट पाउने निश्चित नहुँदासम्म राजीनामा नदिने अडान लिएका थिए।
‘पार्टी केन्द्रले प्रत्यक्षतर्फ प्रदेशसभाको टिकट दिने निश्चित गरेपछि उहाँहरू सरकारबाट फिर्ता आउन राजी हुनुभयो,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘त्यसपछि मात्रै साउन २६ गतेको दलको निर्णयको जानकारी सरकारलाई दिएका हौं।’
माओवादी केन्द्रले गैरसांसद लामाले सम्हालेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाहीलाई दिएको थियो।
‘बाँकी रहेका दुई मन्त्रीलाई पनि फिर्ता बोलाएर तीनैजनालाई एकैपटक सरकारमा सहभागी गराउने दलको बैठकमा निर्णय भए पनि त्यो कार्यान्वयन हुन सकेन,’ ती सांसदले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वले नै साबिककै क्षेत्रमा टिकटको आश्वासन दिएकाले शनिबारसम्म दुवैजनाले राजीनामा दिने बताउनुभएको छ।’
माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीले राजीनामा नदिँदै नयाँ बन्ने मन्त्रीको नाम सरकारलाई बुझाइसकेको छ। स्रोतका अनुसार रातो कामीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा शाहलाई जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइनेछ।
माओवादी केन्द्रका सांसद एवं कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी केन्द्रको निर्देशनअनुसार हालको मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरिएको बताए।
‘पार्टी केन्द्रको निर्णयअनुसार संसदीय दलको बैठकले नयाँ बन्ने मन्त्रीको नाम सिफारिस गरेको हो,’ उनले भनिन्, ‘एकदुई दिनभित्रै अहिलेका मन्त्रीहरूले राजीनामा दिनुहुन्छ, नयाँ सरकारमा सहभागी हुनुहुन्छ।’ नागरिक दैनिकमा समाचार छ ।

