नेकपा (एमाले) को शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराई नेता घनश्याम भुसालले भने जनताले ‘नयाँ नेतृत्व खोजेको’ बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकपूर्व गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने संकेत गर्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य भुसालले पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने संकेत गरेको बैठकमा सहभागी एमाले नेताहरुको भनाइ छ ।
‘हिजो संसद विघ’टन असफल भएसँगै केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ ।’
नेता भुसालले विहीबार स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख गरेका छन् । भुसालको यो प्रस्तावले ओलीको नेतृत्वमा चुनावमा जाँदा जनताले नपत्याउने दाबी गर्छ ।
भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘यो असाधारण चुनौतिले घे’रिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आ’न्दोलन र पार्टीमाथि घोर बेइ’मानी हुनेछ ।
जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दा’ज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्नेतर्फ संकेत गर्दै भुसालले लिखित प्रस्तावमा भनेका छन्, ‘आउनुहोस्, जनताको चाहनालाई सम्वोधन गर्न हामी कस-कसले केके त्याग गर्नुपर्ने हो, तयार होऔँ ।’
नेता भुसालले आगामी चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर सफलता नपाइने विश्लेषण गरे पनि शुक्रबार र शनिबार दुई दिन बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भने केपी ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर जनतासँग बहुमत माग्ने निर्णय गरेको छ ।

