नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न काठमाडौंका मेयर बालेन शाहको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेको बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताएका हुन् ।
जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन शाह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए । जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।
‘तीन स्टेपमा गठबन्धनभित्र भागबण्डा टुंगो’
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा बुधबार सम्ममा सीट संख्या टुंगो लाग्ने बताएका छन् ।
पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताए ।
अध्यक्ष प्रचण्डले आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको भन्दै भने, ‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ ।
‘पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी, कुन क्षेत्र काँग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ’, उनले भने ।
त्यस्तै, आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने प्रचण्डले बताए ।

