नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने प्रतिनिधिसभा निर्वाचनमा भने कास्कीबाट लड्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका उनले कास्की जिल्ला क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् ।
थापाले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत दरखास्त दिएका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउने मंसिर ४ गते हुँदै छ । महामन्त्री थापा आफै उपस्थित नभए पनि उनका साथीहरुले उनको तर्फबाट उम्मेदवारीका लागि आवेदन गरेका हुन् ।
कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न १६ जना इच्छुक देखिएका छन् । समानुपातिकमा ६ जनाको इच्छा देखिएको छ । महामन्त्री थापासँगै सहमहामन्त्री जीवन परियारको पनि प्रत्यक्ष उम्मेदवार बन्न आवेदन परेको जानकारी नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले दिए ।


जनताको साथमा कांग्रेस अभियानलाई प्रतिनिधि परिचालन
नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ।
केन्द्रले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरबाट पालिकामा एक(एक प्रतिनिधि खटाइएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए। सभापति गौडेलका अनुसार जिल्ला प्रतिनिधिका रुपमा पार्टी पदाधिकारीलाई नै खटाइएको हो।
जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका, सचिवद्वय सुधांशु कोइरालालाई नेपालगञ्ज उपमहानगरपालिका र सञ्जुकुमारी चौधरीलाई नरैनापुर गाउँपालिका, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारुलाई खजुरा गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ।
यस्तै पार्टी प्रवक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकाको प्रतिनिधिका रुपमा खटाइएको सभापति गौडेलले बताए। यही मङ्सिंर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि प्रतिनिधि खटाइएको हो।

