नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रचण्ड भण्डारीलाई भेट्न बुधबार शीतलनिवास गएका हुन्।
भेटमा राष्ट्रपति भण्डारीले सरकारले ल्याएको नागरिकता विधेयकबारे चासो राखेकी छन्। उनले खासगरी वैवाहिक अंगीकृत नागरिकता दिन समयसीमा नतोकिएको विषयमा चासो राखिन्।
दाहालले नागरिकता विधेयकलाई राजनीतिको विषय बनाउन नहुने धारणा राखेका थिए। दाहालले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेको तर अहिले सोही विषयमा सरकारले ल्याएको विधेयक राष्ट्रपतिले रोकेर राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न सुझाएका थिए।
उनले नागरिकताविहीनलाई नागरिकता दिन नयाँ विधेयक ल्याइएको जानकारी गराएका थिए। संघीय ससद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको विधेयकलाई पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले फिर्ता पठाइदिएकी थिइन्। प्रतिनिधिसभाबाट पुनः जस्ताको तस्तै पारित उक्त विधेयक राष्ट्रियसभामा छ।
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

