सत्ता गठबन्धनभित्र सिट बाँडफाँडका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए।
पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ।
सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ।’
एमाले प्रतिगमन’कारी शक्ति भएकाले तत्काल सहकार्यको सम्भावना नरहेको उनले बताए। उनले भने,‘एमालेसँग तत्काल कुनै सहकार्यको सम्भावना छैन, प्रतिगमनकारी शक्तिसँग हामी सहकार्य गर्दैनौं।
बरु यही गठबन्धनलाई थप शसक्त बनाएर निर्वाचनमा जान्छौं।’ आउँदो प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने पनि प्रचण्डले जानकारी दिए। एमाले नेता रामबहादुर थापा (बादल) सँग आफ्नो कुनै तुलना नहुने भन्दै उनले चितवन ३ बाटै चुनाव लड्ने बताए।
यस्तै, दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्नेबारे प्रयास भइरहेको बताएका छन् ।
अध्यक्ष दाहालले केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गरेर एकताको प्रक्रिया औपचारिक रुपमा सुरु गरिने भन्दै मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने प्रयास भइरहेको बताए।
‘केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइरहेको छ‚’ उनले भने ।
यसका साथै आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर अन्य केही पार्टीले पनि निर्वाचनमा जाने भन्नेबारे छलफल भइरहेको भन्दै उनले भने‚ ‘अहिले हाम्रो गठबन्धनभित्र त आ(आफ्नो चुनाव चिह्नबाट नै जानेखालको कुरा भइरहेको छ ।
केही पार्टी र साथीहरूले चाहिँ माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भन्नुभएको छ । बाबुराम भट्टराईजीको पार्टी‚ बामदेव गौतमजीको पार्टीले पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्ने भन्नुभएको छ‚’ उनले भने ।

