चुनाव नजिकिदै गइरहेका बेला नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई एक ठूलो अफर गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुुन्।
स्थानीय चुनावमा जनताबाट अस्वीकृत भइसकेकाले नेता नेपाल एमालेमै फर्किनुपर्ने उनको भनाइ थियो। जनताले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो, त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक आग्रह गर्छु, नेकपा एमालेमा फर्केर आउनुस्,’ नेम्वाङले एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा भने।
स्थानीय तहको निर्वाचनमा एमाले लोककप्रिय मतको आधारमा पहिलो पार्टी बनेको उनको दाबी थियो। उनले माओवादी खुम्चिसकेको र कांग्रेस पनि गठबन्धनबिना एमालेसँग आँखा जुधाउने ठाउँमा नरहेको बताए।
यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् ।
शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्व’भाविक दाबी गरेका बताए ।
‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहं’कार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’
२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’
सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि !’
समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’

