पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने चुनावका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्ने मिति नै किटेका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कैलालीमा पार्टी कार्यक्रमका लागि पुगेका दाहालले बुधबारसम्म यसको टंगो लाग्ने बताएका हुन् ।
यसका लागि कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने उनको भनाइ थियो । दाहालले विमानस्थलमा भने, ‘कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं ।
त्यसको वरिपरी मिलाउने हो । एकीकृत समाजवादी २५ र जसपा २५ दाबी गरिराखेको स्थिति छ । यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने, मिलेको जति मिलाउने र त्यसपछि शीर्ष तहमा बसेर टुंगो लगाउने कुरा भएको छ ।’
संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको दाहालले जानकारी दिए । ‘निर्वाचनको सन्दर्भमा गठबन्धनमा हामीले सिटसंख्या क्षेत्र र प्रदेश एकैपटक टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिलाई आज बेलुकासम्मको समय दिइएको छ ।
भोलि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने कुरा भएको छ,’ उनले भने । सबै पार्टीले गरेका दाबी सुन्ने र पछि शीर्ष तहबाट टुंगो लगाउने दाहालको भनाइ थियो । कांग्रेसमा शेखर कोइराला पक्षले १०० सिट आफ्नो पार्टीलाई हुनुपर्ने माग गरेको छ । यस्तो अवस्थामा दाहालको यस्तो प्रतिक्रिया आएको हो ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी मंसिर ४ का लागि तोकिएको संघ र प्रदेश निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दाहालको भनाइ थियो । ‘गतवर्ष संविधान मि’चिने, च्या’तिने हो कि भन्ने ख’तरा थियो । यो निर्वाचन सम्पन्न भएपछि त्यो ख’तरा नेपालबाट टरेर जान्छ,’ उनले भने ।

