देशैभरको मौसम बिग्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रहेको छ । पश्चिमी पहाडी क्षेत्रमा भने यसको प्रभाव कम रहेको छ । आंशिक बदलीकै कारण केही भूभागमा वर्षा हुन सक्ने अर्यालले बताए । उनका अनुसार काठमाडौं, मध्य र पूर्वमा बढी नै मात्रामा तुवाँलो देखिएको छ ।
उनका अनुसार अहिले डेढलो सपोर्टमात्रै भए पनि प्रदूषणकै कारणले मुलुकभर असर परेको हो । सबैभन्दा बढी असर काठमाडौंमा परेको छ । समयमा पानी नपर्दा, हावा हुरी नआउँदा र वायुमण्डल स्थिर हुँदा प्रदूषण बढेको मौसमविद् अर्यालले बताए । सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा फाटफुट–हल्का वर्षाको समेत सम्भावना रहेको छ ।