अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको ठूलै पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रा’न्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले उपमहासचिव पद अस्वीकार गरेका हुुन् ।
उनले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए ।
पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’
माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।
उनले सही नेतृत्व र नीतिको मात्रै सर्मथन गनुपर्ने बताए। ‘अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ,’ उनले कार्यक्रममा भने, ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ। नेतृत्वको कमजोरीको आलोचना गनुर्पछ । म त अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’
नेतृत्वले गलत गर्दा आलोचना गर्नुपर्ने भन्दै विद्यार्थीहरुलाई जनार्दनले भने, ‘तपाईंहरुले पनि अध्यक्ष पञ्चाको कमजोरी गर्दा आलोचना गर्नुहोला। आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’

